वीरगञ्ज– रौतहटको मौलापुर–८ सोनर्नियामा राष्ट्रिय निषाद संघको आयोजनामा भव्य समारोहसहित निषादराज जयन्ती मनाइएको छ। सांस्कृतिक विविधता, सामाजिक एकता र सामुदायिक पहिचान उजागर गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा स्थानीयको ठूलो सहभागिता देखिएको थियो।
कार्यक्रममा आकर्षक सांस्कृतिक झाँकीहरूले उपस्थित सबैको ध्यान खिचे भने समुदायको सांस्कृतिक समृद्धिको झल्को प्रस्तुत गरेका थिए।
समारोहको प्रमुख आतिथ्य राष्ट्रिय समता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय निषाद संघकी केन्द्रीय अध्यक्ष संजिता मुखिया निषादले गरिन्।
जयन्ती समारोहमा नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय महासचिव डा। अभिषेक तिवारी, समतामूलक समाज निर्माण महाअभियानका उपाध्यक्ष विशाल झा, भारत वृन्दावनबाट आएका प्रख्यात कथा वाचक कन्हैया जी महाराज तथा अन्य पूज्य सन्तहरूको टोली विशेष रूपमा सहभागी थिए।
यस्तै, राष्ट्रिय निषाद सांस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष राकेश कुमार केवट निषाद, निषाद समाजका वरिष्ठ नेता शोभी सहनी, सर्लाहीका नेता दशै सहनी, पर्साका युवा नेता चन्दन सहनी र बौद्धिक व्यक्तित्व सोनालाल सहनी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन डा। परमानन्द मुखिया निषादले गरेका थिए। आयोजकहरूले निषादराज जयन्तीले समुदायको मौलिक संस्कृति, सामाजिक योगदान र पहिचानलाई उजागर गर्नुका साथै सामाजिक समरसताको सशक्त सन्देश दिएको बताएका छन्।
कार्यक्रमले निषाद समुदायबीचको एकता, गर्व र भविष्यप्रतिको आशावादलाई थप सुदृढ बनाएको जनाइएको छ।