काठमाडौँ– नेपाल सरकारले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयको टोली म्यानमार पुगेर भूकम्पप्रभावितहरुका लागि खाद्यान्न, औषधि, लत्ताकपडा, टेन्ट लगाएत २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले म्यानमारमा भूकम्पपीडितहरुका लागि राहत सामाग्री पठाउने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


नेपाल सरकार र निजी क्षेत्रको संयुक्त पहलमा संकलन भएका सामाग्री म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले जानकारी दिए । भूकम्पमा परेको म्यानमारका नागरिकलाई केहि सहयोग होस् भनेर सरकारले सहयोग उपलव्ध गराएको उनको भनाई छ । उनका अनुसार, नेपाल सरकारले हस्तान्तरण गरेको सामाग्री म्यानमार सरकारले प्रभावितहरुलाई वितरण गर्नेछ ।

त्यस्तै म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमारमा भूकम्प गएपछि नेपालमा खबर गरेर नेपाली सेनाको टोली आएर सेवा गरिरहेको जानकारी दिए । अहिलेसम्म नेपाली सेनाको टोलीले १३ सय भन्दा बढिको उपचार गरेको उनले जनाए ।

म्यानमारमा डेढलाख नेपाली भाषी रहेका छन् । म्यानमारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्पका कारण तीन हजार ६ भन्दा बढिको मृत्यु भएको छ भने हजारौ घाइते भएका छन् । भूकम्पमा १८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने १०–१५ जना हराइरहेको नेपाली दूतावासले जनाएको छ ।