भक्तपुर– भक्तपुरको छुट्टाछुट्टै स्थानबाट हिजो स्कुटर चोरीमा संलग्न तीन जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२– ०३७ प २४०७ रहेको स्कुटर नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२०४० प ०५२४ नम्बर राखी काठमाडौंको कागेश्वरी नगरपालिका ७ मा चलाईरहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले फेला पारेको थियो । सो स्कुटर सलिना कार्कीको रहेको खुल्न आएको छ ।
सोधपुछको क्रममा सो स्कुटर साजन र दावा मिलेर बिक्री गर्ने योजना बनाएको हुनाले दावालाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । दावालाई सोधपुछ गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएपछि रोजनलाई समेत भक्तपुरको मध्यपुर ठिमीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
रोजनलाई समेत सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ बर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपश्चात खोजि गर्ने क्रममा उनि बस्दै आएको ठाउँमा बा ६६ प ८७८५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको थियो । सो स्कुटर काठमाडौंको सानोगौचरणबाट हराएको भनि विकास लामाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
फरार रहेका सुजनको भने खोजी भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक छानबिन तथा कारवाहीका लागि प्रहरी वृत्त मालिगाउँ पठाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।