काठमाडौं – गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रम र सम्भावित प्रदर्शनलाई ध्यानमा राखी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उपत्यकाभित्र ३८ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ।


ADVERTISEMENT


राष्ट्रपति रामचन्द्र पौडेलको टुँडिखेलस्थित सैनिक मञ्चमा उपस्थितिपछि तोकिएका स्थानहरूमा सुरक्षाकर्मी तैनाथ भइसकेका छन्। जनशक्ति नपुगेपछि मकवानपुरस्थित विशेष सुरक्षा गणबाट थप प्रहरी टोली काठमाडौं बोलाइएको छ।


ADVERTISEMENT

# # #


राजावादी समर्थकहरूका संभावित प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले उच्च निगरानी बढाएको छ। प्रदर्शनकारीलाई दिउँसो २ बजेअघि निषेधित क्षेत्रतर्फ प्रवेश गर्न नदिने नीति लिइएको छ। शान्तिबाटिका क्षेत्रतर्फ २ बजेपछि मात्र प्रवेश दिइने भए पनि, गौशाला–सिनामंगल–तीनकुने क्षेत्रहरूमा भिड जम्मा हुन दिइने छैन।

ललितपुर र भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने प्रदर्शनकारीहरूलाई चक्रपथ बाहिरै नियन्त्रणमा राख्ने रणनीति बनाइएको छ। मनोहरा पुल, कोटेश्वर, जावलाखेललगायत ठाउँमा प्रहरी टोली तैनाथ गरिएको छ। एमाले कार्यकर्ता पनि काठमाडौंका विभिन्न स्थानमा जम्मा भइसकेका छन्, तर उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश गर्न दिइने छैन।

प्रहरीले सम्भावित अवाञ्छित गतिविधि रोक्न वाटर क्यानन, अश्रुग्यास, रबर बुलेटजस्ता उपकरण तयारी अवस्थामा राखेको छ। विमानस्थल क्षेत्रमा समेत सेना, प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा परिचालन गरिएका छन्, जहाँ प्रवेशद्वारहरू उच्च सतर्कतामा राखिएको छ।