काठमाडौँ- सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ प्रतिवेदनअनुसार सञ्चालनमा रहेका ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र दुई वटा बन्द अवस्थामा रहेका छन् ।
प्रतिवेदनअनुसार सार्वजनिक संस्थानमा सरकारको ठूलो लगानी देखिएपनि त्यसको प्रतिफल र राज्यले पाउने लाभ निरन्तर कमजोर हुँदै गएको देखिएको हो ।
“आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक र बाह्य कारणले सार्वजनिक संस्थानको समग्र कार्यसम्पादनमा असर पर्न गएको छ । आर्थिक वर्ष २०७९/८० मा संस्थानको कुल सञ्चालन आय रू छ खर्ब ६१ अर्ब ६३ करोड ३८ लाख रहेकामा आव २०८०/८१ मा शून्य दशमलव २२ प्रतिशतले कमी भई रू छ खर्ब ६० अर्ब १५ करोड ४६ लाखमा सीमित भएको छ”, समीक्षा प्रतिवेदनमा भनिएको छ ।
आव २०७९/८० को सार्वजनिक संस्थानको समग्र खुद नाफा रू ४८ अर्ब ९२ करोड २९ लाख को तुलनामा आव २०८०/८१ मा १२ दशमलव ८८ प्रतिशतले कमी भई रू ४२ अर्ब ६२ करोड १६ लाख कायम भएको छ । यसरी नाफा घट्नुमा तुलानात्मक रूपले कारोबार र नाफा अङ्क उच्च रहेका नेपाल आयल निगम लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नाफामा आएको गिरावटले भूमिका खेलेको देखिन्छ ।
“आव २०७९/८० मा रू ११ अर्ब ७२ करोड ३० लाख खुद नाफामा रहेको नेपाल आयल निगम लिमिटेड आव २०८०/८१ मा रू नौ अर्ब ५५ करोड ४७ लाख नाफामा छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रू दुई अर्ब १६ करोड ८३ लाख कमी हो,” वार्षिक प्रगति प्रतिवेदनमा भनिएको छ ।
त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आव २०७९/८० को खुद नाफा रू सात अर्ब ९२ करोड दुई लाखको तुलनामा आव २०८०/८१ मा रू छ अर्व २३ करोड एक लाखमा सीमित हुन पुगेको छ ।
सार्वजनिक संस्थानको आव २०८०/८१ सम्मको कुल सञ्चित नाफा रू ९२ अर्ब ७२ करोड ३६ लाख पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को रू ६५ अर्ब ७४ करोड ८२ लाखको तुलनामा ४१ दशमलव शून्य तीन प्रतिशतले बढी हो ।
संस्थानको प्रतिवेदनअनुसार जनकपुर चुरोट कारखाना लिमिटेड बन्द भएपनि भवन तथा जग्गा भाडाबापत प्राप्त रकमबाट आय भएको देखिन्छ । त्यस्तै, नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले आफ्नो उद्देश्यअनुसारको कार्यबाट भन्दा ब्याजबापत बढी रकम आर्जन गरेको देखिएको छ ।
घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड र बुटवल धागो कारखाना लिमिटेड बन्द छन् भने धौबादी फलाम कम्पनी लिमिटेडले व्यवसायिक कारोबार सुरू गरेको छैन । व्यावसायिक कारोबार नभए पनि यी संस्थानको नियमित प्रशासनिक खर्च भइरहेकाले नोक्सानमा रहेको देखिएको हो ।
आव २०८०/८१ मा नाफामा सञ्चालित संस्थानको खुद नाफा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ५० प्रतिशतले घटेको छ भने नोक्सानमा सञ्चालित संस्थानको खुद नोक्सान अघिल्लो वर्षको तुलनामा आठ दशमलव ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ । सार्वजनिक संस्थानको कुल सञ्चालन खर्च अघिल्लो समीक्षा अवधिको तुलनामा तीन दशमलव शून्य छ प्रतिशतले घटेकामा प्रशासकीय खर्च (कर्मचारी खर्चसहित) शून्य दशमलव ५५ प्रतिशतले बढेको छ ।
आव २०८०/८१ मा कुल शेयर धनी कोष (नेटवर्थ) को रू १० खर्ब ३७ अर्ब ५८ करोड ४५ लाख पुगेको छ जुन आव २०७९/८० को रू नौ खर्ब ९० अर्ब ४० करोड ५२ लाखको तुलनामा चार दशमलव ७६ प्रतिशतले बढी हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणअनुसार नेपाल सरकारको कुल लगानी आव २०७९/८० को रू छ खर्ब ६४ अर्ब ९४ करोड १२ लाख तुलनामा पाँच दशमलव ८६ प्रतिशतले वृद्धि भई आव २०८०/८१ मा रू सात खर्ब ३ अर्ब ९३ करोड ८८ लाख पुगेको छ ।