कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा ६४ जना दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर, मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रूपमा रु पाँच हजारका दरले उपचार खर्च उपलब्ध गराइएको नगर स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए ।
उनका अनुसार क्यान्सर भएका ३९, डायलाइसिस गराइरहेका २१, मेरुदण्ड पक्षघात भएका तीन र मिर्गौला प्रत्यारोपण गराई रहेका एकजना गरी ६४ जनालाई उपचार खर्च उपलब्ध गराइएको हो ।
दीर्घरोग भएका बिरामीको लामो समयसम्म औषधि उपचार गर्नुपर्ने र खर्चिलो हुने हुँदा आर्थिक भार कम गर्न शून्य मौज्दातमा बैङ्कमा खाता खोलेर त्यसैमार्फत मासिक रूपमा उपचार खर्च उपलब्ध गराइँदै आएको शाखा प्रमुख भट्टले बताए । त्रैमासिक रूपमा महिनाको अन्तिम दिन उपचार खर्च रकम बैङ्क खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट निवृत्तिभरण, पेन्सन प्राप्त गरिरहेका व्यक्तिलाई भने उपचार खर्च दिने गरिएको छैन ।
कार्यविधिअनुसार औषधि उपचार खर्च पाउनका लागि राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अनुसूची १ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, अपाङ्गतासम्बन्धी रातो वा नीलो कार्डको प्रतिलिपिसहित वडा कार्यालयमा अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ ।
वडाको सिफारिसअनुसार दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराउने गरिएको छ ।