काठमाडौं — भारतीय योगगुरु बाबा रामदेवको संस्थान पतञ्जलिसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित अन्य संलग्न व्यक्तिहरूलाई प्रतिवादी बनाई बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।


ADVERTISEMENT

# # #


प्रकरण अनुसार, प्रधानमन्त्रीको हैसियतमा नेपालले पतञ्जलिलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न र त्यसपछि गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएका थिए। २०६६ सालमा पतञ्जलि आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरेको थियो, जसको ३५३ रोपनी काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचिएको थियो।

नेपाल प्रधानमन्त्री पदमा ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म थिए। १८ माघ २०६६ मा मन्त्रिपरिषद्बाट पतञ्जलिलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिइएको थियो। तर, दुई महिनाभित्रै — ६ चैत २०६६ मा — मन्त्रिपरिषद्बाट पुनः निर्णय गराएर उक्त जग्गा हाउजिङ कम्पनीलाई बिक्री गर्न अनुमति दिइएको थियो।

उक्त जग्गा बनेपाको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेशथान क्षेत्रमा पर्ने बताइएको छ। जग्गा खरिदपश्चात प्लटिङ गरिएको छ।

मन्त्रिपरिषद्का अन्य सदस्यहरूमध्ये भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, मुख्यसचिव माधव घिमिरे र भूमिसुधार सचिव छविराज पन्त पनि त्यतिबेला सरकारको निर्णय प्रक्रियामा संलग्न थिए।

अनुसन्धानमा, पतञ्जलिलाई हदबन्दी छुटमा जग्गा बिक्री गर्न प्रस्ताव अघि बढाउन मन्त्री श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएको लिखित प्रमाण फेला परेको अख्तियारले जनाएको छ।