काठमाडौँ – प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर आइतबारसम्मका लागि स्थगित गरिएको हो । अब बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर प्रतिनिधिसभा अवरुद्ध गरिरहेका छन् । अवरोध खुलाउन आज नेपाली काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।
यस्तै आजै प्रतिपक्षी दलको बैठक समेत बसेको थियो । तर, अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न सकेन । जेठ १५ गते बजेट पेश गर्न दिएका प्रतिपक्षी दलले त्यसमाथिको छलफल प्रक्रियालाई भने सुरु हुन दिएका छैनन् ।