काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिका बारेमा गम्भीर समिक्षा जरुरी रहेको बताएका छन् ।
शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाडै नै केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय गर्ने समेत बताए ।
‘सरकार जुन गतिमा चल्नुपर्ने हो, जसरी यसले परिणाम दिनुपर्ने हो, दिन सकिरहेको छैन । यसको गम्भीर समीक्षाको आवश्यकता छ ।’ उनले भने, ‘केही दिनदेखि हामी पार्टीको नेतृत्व अनवरत छलफलमा छौँ । केही दिनभित्र हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको मुख्य एजेण्डा नै हामी सम्मिलित सरकारको विषयमा हुनेछ ।’
त्यस्तै उनले पतञ्जली जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गरे । संवैधानिक निकायले कानुन अनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने उनले बताए । ‘यो विषय अदालतमा प्रवेश गरेको छ । अदालतमाथि विश्वा गरौँ, अदालतले कोही पनि निर्दोष व्यक्तिमाथि अन्याय हुन दिँदैन ।’ उनले भने, ‘कुनै पनि विषयमा कोही पनि दोषी छ भने अदालतले त्यही अनुसार आफ्नो फैसला सुनाउँछ ।’
त्यस्तै थापाले वर्तमान सरकार गठनका समयमा भएको सहमति अनुसार संविधन संशोधनसम्बन्धी समिति बनाउन ढिलाई भएको उल्लेख गरे । चाँडै नै समिति बनाएर संविधान संसोधनको एजेण्डाबारे टुङ्गो लगाई प्रक्रियामा लैजाने उनको भनाई छ ।
पार्टीको महाधिवेशन बारे सोधिएको प्रश्नमा महामन्त्री थापाले ०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी पार्र्टी सदस्यता लगायतका विषयहरुमा काम गरिरहेको बताए ।