काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलियाको नर्दर्न टेरिटोरी (एनटी) क्रिकेटले आयोजना गर्ने टप एन्ड टी–२० सिरिजका लागि नेपाली टोलीका घोषणा भएको छ ।
अगस्ट १४–२४ सम्म अष्ट्रेलियाको डार्विनमा हुने उक्त उक्त सिरिजको लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सस्यीय नेपाली टोली घोषणा गरेको हो । जस अनुसार नेपाली टोलीमा अलराउन्डर कुशल मल्ल फर्किएका छन् भने अनिल साह बाहिरिएका छन् ।
अन्य खेलाडी भने हालै स्कटल्याण्ड सिरिजमा खेलेका खेलाडी नै रहेका छन् ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकाप्तान), आसिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, भीम शार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी ।
टेस्ट राष्ट्र पाकिस्तान र बंगलादेशका ए टोली सहित ११ टोली सहभागी हुने टप एन्ड टी–२० सिरिजको पहिलो खेल १४ अगस्टमा हुनेछ ।
पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा प्रतियोगिताको उद्घाट्न खेल पाकिस्तान शाहिन र बंगलादेश ‘ए’बीच हुनेछ । कूल ११ टोलीले सम्मिलित प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले कम्तीमा ६ वटा खेल खेल्ने पक्का भएको छ । जस अनुसार नेपालको पहिलो खेल १५ अगस्टमा आयोजक नर्दनको टोली नर्दर्न स्ट्राइक्ससँग हुनेछ ।
यस्तै दोस्रो खेल नेपालले १६ अगस्टमा बंगलादेश ‘ए’सँग खेल्नेछ भने तेस्रो खेल अगस्ट १८ मा मेलबर्न स्टार्स एकेडेमीसँग हुनेछ । यस्तै नेपालले चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्सको टोलीसँग, पाँचौँ खेल मेलबर्न रेनेगेट्सको टोलीसँग र छैटौँ खेल पाकिस्तानसँग २२ अगस्टमा हुनेछ ।
यस्तै उत्कृष्ट ४ भित्र पर्न सके नेपालले अर्को खेल खेल्नेछ र उक्त खेल जितेमा उपाधिका लागि फाइनल खेल्नेछ । प्रतियोगिताका खेलहरु अष्ट्रेलियाको डार्बिनस्थित टी–१० स्टडियम, डीएक्ससी एरिना, क्याजलिस एरिना, गार्डेन मैदानमा खेलाइनेछन् ।
टप एन्ड टी–२० सिरिज प्रतियोगितालाई नेपालले आगामी अक्टोर पहिलो साता ओमानमा हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोट प्रतियोगिताको तयारीका रुपमा लिएको छ ।

































































