हेटौँडा — बागमती प्रदेश सरकारको छैटौँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्।
बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा ६४ सांसदको समर्थन सहित मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए। उनको पक्षमा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको हस्ताक्षर रहेको थियो। बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।
पूर्व मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसअनुसार बानियाँले बहुमतको समर्थनसहित दाबी प्रस्तुत गरेका हुन्।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँ लामो समयदेखि प्रदेशको राजनीतिमा सक्रिय छन् । उनी संगठनात्मक अनुभवका हिसाबले पनि सशक्त नेताको रूपमा चिनिन्छन् ।
































































