काठमाडौँ – बाजुराको मार्तडी–कोल्टी सडकखण्डको निर्माणबारे पीएस बानियाँ जेभी कम्पनीले सत्यतथ्य स्पष्ट गरेको छ । आइतबार रातोपाटीमा प्रकाशित ‘भ्रमपूर्ण गलत’ समाचार सामाग्रीबारे कम्पनीले ९ बुँदामा खण्डन गरेको हो ।
कम्पनीले नेपाली काँग्रेस सभापति एवं दलका नेता इन्द्रबहादुर बानियाँको समाचारमा आएको जस्तो कुनैपनि आबद्धता नभएको भन्दै पूर्णरूपमा अस्वीकार गरेको छ ।
‘यस पीएस–बानियाँ जेभीको कुनै राजनीतिक दल र राजनीतिक व्यक्तित्वसँग सम्बन्धित नरहेको स्पष्ट पार्न चाहन्छौँ ’, खण्डनमा भनिएको छ ।
कम्पनीले कोल्टी–मार्तडी सडकको अवस्थाबारे समेत प्रस्ट्याएको छ । यस अन्तर्गत मार्तडीबाट १४ किलोमिटरदेखि ४० किलोमिटर क्षेत्रमा मात्र यस जेभीले ठेक्का सम्झौता गरी काम गरिरहेको तथा उक्त सडक निर्माणको ठेक्का अवधि २०८४ असार मसान्तसम्म रहेको जनाइएको छ ।
हालसम्म उक्त सडकको भौतिक प्रगति ४५ प्रतिशत रहेको र जेभीले हालसम्म सडक चौडा गर्ने र कालोपत्रेका लागि पूर्वाधार तयार गरिसकेको र अब कालोपत्रेको काम मात्रै बाँकी रहेको जनाएको छ ।
अहिले वर्षायाम सुरु भएको र प्राविधिक हिसाबले यो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले वर्षा सकिने बित्तिकै कालोपत्रे गर्ने र यसका लागि सम्पूर्ण औजार उपकरण साइटमै रहेको जेभीले जनाएको छ । अहिले मार्तडीदेखि ६.५ किलोमिटर टाढाको जिली क्षेत्रमा पहिरो गएको र सो क्षेत्र यस जेभीको कार्यक्षेत्रभित्र नरहेको समेत कम्पनीले प्रस्ट पारेको छ ।
अहिले सोही क्षेत्रमा ठुलो पहिरोका कारण यातायात अवरुद्ध भइ इन्धन ढुवानी हुन नसक्दा समस्या भइरहेको जेभीको दाबी छ । सकेसम्म छिटो इन्धन ढुवानी गरी आफ्नो कार्यक्षेत्रमा रहेको सडक सुचारु गर्न तत्पर रहेको समेत कम्पनीको भनाइ छ ।
कम्पनीले आफ्नो कारणले आयोजनाको बजेट फ्रिज नभएको समेत दाबी गरेको छ । ‘बजेट फ्रिज भएको भनिएको १३ करोड रुपैयाँ यस जेभीको कारणले नभई सरकारको वित्तीय अनुशासन अन्तर्गत फिर्ता भएको स्पष्ट पार्न चाहन्छौँ’ कम्पनीले पठाएको खण्डनमा उल्लेख गरिएको छ ।
कम्पनीले अहिले पनि आफूहरू निर्माण क्षेत्रका सबै सरोकारवालाहरूसँग निरन्तर सम्पर्कमा रहेको र सडकमा पर्ने समस्या समाधानका लागि हामी सधैं तत्पर रहेको समेत जनाएको छ । साथै आफ्नो काम समयमै सम्पन्न गर्ने प्रतिवद्धता समेत कम्पनीको छ ।
यस्तो छ पीएस बानियाँ जेभीको ९ बुँदे स्पष्टोक्ति

































































