काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय युवा परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरको मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन भन्ने आफूलाई विश्वास लागेको बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताको युवावय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङगोमा पु¥याउनमै समर्पित रहेको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको जनाए ।

राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गरे । अब उक्त सामथ्र्य र शक्तिलाई दीगो विकासको अवधारणाअनुरुप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपति पौडेलले उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको बताउँदै विश्वव्यापीकरण र सूचना प्रविधिको तिव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको धारणा राखे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आजका युवाहरुलाई केहि गर्न सक्नु भन्ने सकारात्मक सोच बिकास गर्न सक्नुपर्ने बताए । युवाहरु परिवर्तनका बाहक भएकाले उनीहरुका लागि मुलुकभित्रै अवसर उपलव्ध गराउन सरकार गम्भीर भएको उनको भनाई छ । उनले यो वर्षमा देशका सबै स्थानीय तहमा युवा सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन राष्ट्रिय युवा परिषदलाई निर्देशन दिए ।

त्यस्तै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैदेशीक रोजगारबाट स्वदेश फर्केका युवाहरुले सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माणमा परिचालन गर्न पनि परिषद्ले ध्यान दिएको बताए। युथ भिजन २०२५ को अवधि सकिएकाले युथ भिजन २०३५ को निर्माणको प्रारम्भीक छलफलमा परिषद् जुटिसकेको उहाले जानकारी दिए ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।