काठमाडौँ– भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएका छन् ।


ADVERTISEMENT


मंगलबार बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए । सांसद खनालले आफुहरुले लामो समयदेखि सदनमा जायज मागका साथ विरोध गरेपनि कुनै सुनुवाई नभएको भन्दै आपत्ति जनाए ।


ADVERTISEMENT

# # #


लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने काम भइरहेको उनले बताए ।

उनले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहे मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजाने उल्लेख गरे । खनालले गृहमन्त्रीलाई अप्ठेरो पर्छ भनेर भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुन नसकेको जिकिर गरे ।

त्यस्तै राप्रपा सांसद विना लामाले भिजिट भिसा प्रकरणमा आफुहरुले राखेको मागलाई सरकारले वेवास्ता गरेको र त्यसलाई सघाउने काम संसदले गरेको आरोप लगाए । यस बिषयमा संसदीय उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।

त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।