काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको समिति बैठकले यहि साउन २३ गते कैलाली कारागार परिसरभित्र घटित घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न र पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध हुने आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


बैठकले अन्य बिभिन्न कारागारहरुमा समय समयमा हुने गरेका यस्ता झडप तथा कुटपिटका घटनाहरू दोहोरिन नदिन र कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन समेत गृहमन्त्रालयलाई निर्देशन दिएको छ भने कैदीबन्दीलाई श्रम र उत्पादनमा जोड्ने जस्ता विषयसहितको आवश्यक रणनीति तय गरी प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको समिति सभापति बिमला सुवेदीले जानकारी दिए ।

त्यस्तै कारागारमा रहेका कैदीबन्दीहरुको अपराधको प्रकृति, बन्दीको संख्या र स्वभावअनुसार फरक÷फरक ब्लक र कारागारमा राख्ने व्यवस्था गर्न समेत समितिले निर्देशन दिएको छ । त्यसैगरि कारागारभित्र आवश्यक भौतिक संरचनाहरू थप निर्माण गर्न तथा प्रत्येक प्रदेशमा एक वटा नमुना कारागार निर्माण गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति सुवेदीले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा भएको घटना छानविनका लागि समिति गठन भएको भन्दै त्यसको रिपोर्टका आधारमा सत्यतथ्य बाहिर आउने जानकारी दिए । कैलाली कारागार कुनै हतियार नभइ त्यही रहेको इट्टाढुङ्गाहरु प्रयोग भएको देखिएको उहाले बताए । गृहमन्त्री लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको देखिएको भन्दै सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले कैदीबन्दीको मानवअधिकारलाई ध्यान दिदै कारागारको बिकास गर्ने र कैदीबन्दी फर्किएपछि समाजमा पुनस्र्थापित हुने वातावरण बनाउने कुरामा सरकार संवेदनशील रहेको धारणा राखे ।