काठमाडौँ – प्रधानमन्त्रीले सहकारी घोटालामा संलग्न व्यक्तिहरुमाथि न्यायालयबाट कारबाही भइरहेको अवस्थामा त्यसलाई ‘राजनीतिक प्रतिशोध’ भनेर चित्रित गर्ने प्रयासप्रति आपत्ति जनाएका छन्।
उनले लाखौं जनताले लगानी गरेका सहकारीको रकम हिनामिना गरेको अभियोगमा सयौं व्यक्तिमाथि मुद्दा चलिरहेको जनाउदैँ तीमध्ये केही पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयर लगायत जिम्मेवार पदमा बसेका व्यक्ति रहेको बताए ।
‘ यदि एक जनामाथि राजनीतिक प्रतिशोध भयो भने, बाँकी थुनामा रहेका अन्य व्यक्तिहरूको के ? के अदालतले नै प्रतिशोध साँधिरहेको हो ? कि सरकारको निर्देशनमा अदालत चलिरहेको हो ? अझ, सत्ता पक्षका व्यक्ति समेत थुनामा परेका अवस्थामा यो कस्तो प्रतिशोध हो ?’, उनले प्रश्न गरे ।
उनले ‘भीडद्वारा न्यायको हत्या गर्ने प्रवृत्ति’प्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यस्ता समूहहरू दया लाग्दो छन्, जसले भावनात्मक उत्तेजना र गलत प्रचारमार्फत सदन निरन्तर अवरुद्ध गरिरहेका छन्।’ देशलाई यस्तो भावनात्मक र हानिकारक बहसको कुचक्रमा लैजान नहुनेमा प्रधानमन्त्रीले जोड दिए।
रास्वपाका सभापति रवि लामिाछनेप्रति लक्षित गर्दे उनले भने ‘विदेश भिजिट भिसामा गएर उतैको नागरिकता लिएका, नेपाल फर्किएर नागरिकता नत्यागी मन्त्रीसम्म बनेका प्रमाणित अभियुक्तहरू, र भिजिट भिसामै गएर दुई–दुई पटक विवाह गरेका व्यक्तिहरु समेत आज नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकहरूलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्।’
यस्ता गतिविधिको उद्देश्य मुलुक वा जनताको हित भई स्वार्थपूर्ति र सत्ता प्राप्तिका लागि गरिएको दुष्प्रचार मात्रै रहेको उनले जनाए ।


























































