काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपालाई ११५ रनको सामान्य चुनौति पेस गरेको छ ।


ADVERTISEMENT


हरारेको हरारियन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले नेपालसामू राम्रो सुरुवात गर्न सकेन । नेपाली बलरसामू पीएनजीका ब्याट्समेन पूरै निरीह देखिए । उसले २७.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो । पीएनजीको कुनै पनि ब्याट्समेनले २० रन छुन सकेनन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनीहरुले समान ४/४ विकेट लिए । ४.३ ओभर बलिङ गरेका ऐरीले मात्र १४ रन खर्चिए भने ८ ओभरमा सन्दीप लामिछानेले २९ रन दिए ।

पीएनजीले २.३ ओभरमा १२ बनाउँदै आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए।

उनले असाड भालालाई व्यक्तिगत १० रनमा आउट गरे। सोमपाल कामीले खेलको २.३ ओभरमा १२ रन हुँदा एलबीडब्लुको धरापमा पारेका हुन् । भालाले २ चौका प्रहार गरेका थिए । यस्तै करण केसीले नेपालका लागि दोस्रो विकेट लिए । उनले टोनी उरालाई व्यक्तिगत ११ रनमा पेवेलियनको बाटो देखाए । विकेटकिपर अनिल शाहबाट क्याच हुनुअघि उराले २३ बलमा एक चौका प्रहार गरेका थिए ।

यस्तै सन्दीप लामिछानेले चाद सपुर, सीसी बाउ, महरु दाई र किप्लिन गोरिगालाई क्रमशः १०, ११, ५ र १० रनमा आउट गरे । यस्तै दिपेन्द्र सिंहले इनिङकै उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमै ४ विकेट चट्काए । चार्लेस अमिनीलाई १९ रनमा आउट गरेका उनले जेसन किला र जोन रिभालाई क्रमशः १५ र ६ रनमा आउट गरे । यस्तै नर्भन भानुवा खातै खोल्न नपाई बोल्ड भए ।

एक दिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाबमा दुबै टोली रहेका छन् । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।