काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दा उच्च अदालत बुटवलको न्यायाधीश सागर विष्टको एकल इजलासमा परेको छ।
लामिछानेकी पत्नी निकिता लामिछानेले श्रीमानको तर्फबाट बिगो बराबरको बैंक जमानत बुझाएर जेलबाहिरबाट मुद्दा लड्न दिनु पर्ने मागसहित सोमबार अदालतमा रिट दायर गरेकी हुन्।
उक्त रिटमा लामिछानेमाथि लागेको आरोप अनुसार बिगो बुझाइसकेको अवस्थामा थुनामा नराखी, कानुनी प्रक्रिया सामना गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने उल्लेख गरिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, उक्त रिटमाथि आजै न्यायाधीश सागर विष्टको इजलासमा बहस हुने सम्भावना रहेको छ।
रास्वपा सभापति लामिछाने हाल सहकारी ठगी मुद्दामा अनुसन्धानको दायरामा परेका छन्। रिटमार्फत उनको तर्फबाट पुनः स्वतन्त्रतासाथ मुद्दाको सामना गर्न पाउने माग गरिएको छ।



























































