काठमाडौं–सिंहदरबार होस् कि संसद् भवन। सांसदहरूको एउटै गुनासो सुनिन्छ, ‘प्रधानमन्त्रीसँग भेट्नै पाइएन । जनताका कुरा राख्नै पाइएन।’


ADVERTISEMENT


अब भने सांसदले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्ने मात्रै होइन, सिधै प्रश्न गर्न पाउने भएका छन् । हरेक महिनाको दुई दिन, त्यो पनि जनप्रतिनिधिमूलक निकाय प्रतिनिधिसभामा । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनामा दुई दिन प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा सिधा प्रश्न गर्ने व्यवस्था नियमावलीमा राख्ने भएको छ ।


ADVERTISEMENT

# # #


समिति सभापति एवं एमाले सांसद कृष्णभक्त पोखरेलले महिनाको पहिलो र तेस्रो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राखिने बताए । ‘विकास निर्माण र जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग सिधै सांसदले प्रश्नोत्तर गर्ने व्यवस्था नियमावलीमा राख्दै छौं,’ उनले भने । प्रधानमन्त्रीलाई एक दिनमा १० जना सांसदले प्रश्न गर्न पाउनेछन् ।

यस्तै अन्य मन्त्रीसँग पनि प्रश्नोत्तरको व्यवस्था नियमावलीमा राखिने भएको छ । ‘प्रतिनिधिसभाले बिजनेसमा प्रवेश गर्नुअघि प्रश्नोत्तरको समय राखिनेछ,’ पोखरेलले भने, ‘यसबाट सरकार र जनप्रतिनिधि तथा जनता र सरकारबीचको सम्बन्ध सुदृढ हुने र सरकारलाई प्रतिनिधिसभाप्रति उत्तरदायी बनाउन मद्दत मिल्ने विश्वास छ ।’