काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी घोषणाअनुसार अति विपन्न परिवारलाई घर निर्माण सहयोग प्रदान गर्ने कार्य अघि बढाएका छन्। उनले राक्सिराङ गाउँपालिका–१ इन्द्रुङ निवासी सुमनसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
मुख्यमन्त्री बानियाँले स्थानीय जनप्रतिनिधि र नेपाली काँग्रेसका नेताहरूको उपस्थितिमा सोमबार घर निर्माणको जिम्मा लिने पक्षलाई चेक हस्तान्तरण गरेका हुन्। सुत्केरी श्रीमतीलाई खुवाउने कुरा समेत नभएको र बसोबासका लागि उचित घर नहुँदा झुप्रोमा जीवन यापन गरिरहेको जानकारी पाएपछि बानियाँले व्यक्तिगत खर्चमै घर बनाइदिने निर्णय गरेका हुन्।
मुख्यमन्त्री बानियाँले पद सम्हालेपछि आफ्ना तलब भत्ताबाट अति विपन्न परिवारका लागि घर निर्माण गर्ने घोषणा गरेका थिए। सोहीअनुसार राक्सिराङको चेपाङ परिवार र मनहरी गाउँपालिका–९ की विपन्न दलित महिलाको घर निर्माण कार्य सुरु गरिएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार सुमनसिं चेपाङको दुई कोठा, एक भान्छा र ट्वाइलेट–बाथरुमसहितको घर दशैँअघि नै निर्माण सम्पन्न गर्ने योजना रहेको छ। घर निर्माणका सम्पूर्ण खर्च मुख्यमन्त्री बानियाँले नै ब्यहोर्ने जनाइएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बानियाँको पहलले स्थानीय स्तरमा सकारात्मक सन्देश दिएको छ भने पीडित परिवारमा खुसियाली छाएको छ।



























































