काठमाडौं–कास्कीमा एसियाकै पहिलो अपांगतामैत्री पदमार्ग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकास्थित देउराली नौडाडामा १.३ किलोमिटर लामो पदमार्ग शनिबारदेखि सञ्चालनमा आएको हो । पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमशृंखलाको अवलोकन र फेवातालको मनोरम दृश्यको मजा लिन सकिन्छ ।


ADVERTISEMENT


पदमार्गमा हृविल चेयर प्रयोगकर्ता, वृद्ध नागरिक, कृत्रिम हात खुट्टा भएका जस्ता पदयात्रीले यात्रा गर्न सक्छन् । पदमार्ग सञ्चालनमा आएपछि अपांगता भएका व्यक्तिले पद मार्गमा पुगेरै खुसी साटेका छन् ।


ADVERTISEMENT

# # #


पदमार्गको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शनिबार उदघाटन गरे । कास्कीकोटदेखि अन्नपूर्ण गाउँपालिकाको नौडाँडा पुग्ने अपांगतामैत्री पदमार्गले नेपालको पर्यटनमा एक नयाँ आयाम थपेको मन्त्री अधिकारीले बताए । पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन र नेपालकै एक नमूना पदमार्गको रुपमा विकास गर्न आफुहरु लाग्ने मन्त्री अधिकारीको भनाइ थियो ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले एसियामै पहिलोपटक सञ्चालनमा आएको अपांगतामैत्री पदमार्ग नेपाली पर्यटनको एउटा उपलब्धी भएको बताए । पदमार्गको शुभारम्भ ऐतिहासिक भएको बताउँदै जोशीले यस्ता गतिविधिले आवश्यक्ता, चेतनाको विकाससँगै पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपालजस्तो भौगोलिक विकटता भएको देशमा पहुँचयुक्त पदयात्रामार्ग सञ्चालनमा आएसँगै सुखद सन्देश गएको उनको भनाइ थियो । मोटर गाडी चलाउन नपाइने यो मार्ग अपांगता भएका व्यक्ति र साइकल चलाउनेका लागि लक्षित हो । यो मार्ग साढे १ किलोमिटर तयार भइसकेको छ । दायाँबायाँ बार बन्देज लगाई ३ किलोमिटर मार्ग तयार हुँदैछ ।

पर्यटन बोर्ड र पोखरा लेखनाथ महानगरपालिकासमेतले मार्ग निर्माणमा खर्च गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले पनि आउँदो वर्ष पदमार्गमा लगानी गर्ने जानकारी दिएको छ ।

कामका हिसाबले यो सानो प्रयास भए पनि यसले पार्ने प्रभाव र दिने सन्देश ठूलो भएको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले बताए । ‘सबै नागरिकले सबैखाले सुविधा उपयोग गर्न पाउनुपर्छ । सबैखाले नागरिकका लागि पदमार्ग सञ्चालनमा आएको छ । यसले सुन्दर सन्देश दिएको छ,’ थपलियाले भने, ‘यस्तै ससाना कुराले खुसीको सञ्चार गर्छ ।’