चितवन– भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पुर्याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ ।


ADVERTISEMENT


कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको हो ।


ADVERTISEMENT

# # #


महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थासमेतलाई आधार मानी व्यवसायको लगानी, पूँजी, व्यवसायको कारोवारका आधारमा केही करका दरलाई मात्रै समयसापेक्ष बनाइएको बताइन् । उनले महानगर हुनका लागि आन्तरिक आम्दानी रु एक अर्ब हुनुपर्ने भएकाले आउँदो आवभित्रमा आम्दानी रु एक अर्ब पुर्याइने लक्ष्य लिइएको जानकारी दिइन् ।

चालू आवमा व्यवसाय करबाट रु १० करोड, आन्तरिक राजश्वबाट रु सात करोड र आन्तरिक आयबाट रु ५३ करोड गरी रु ७० करोड राजश्व उठाउने लक्ष्य महानगरको छ । गत वर्ष रु २३ करोड ९८ लाखमात्र आन्तरिक आम्दानी भएको थियो । गत वर्ष ११५ क्षेत्रमा कर लगाइएकामा यस वर्ष दायरा फराकिलो पारेर २०८ क्षेत्रमा कर लगाइएको छ । महानगरको चालू आवको बजेट रु तीन अर्ब २५ करोड छ ।

लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा कर्मचारीले जोखिम नलिने भएकाले करको दर र दायरा नबढाएको जानकारी दिंदै प्रमुख दाहालले जनमत प्राप्त जनप्रतिनिधिले महानगरको समग्र विकास आन्तरिक आम्दानीबिना गर्न नसक्ने हुँदा व्यवसाय कर र यसका दायरा तथा शुल्कमा केही हेरफेर मात्र गरिएको बताइन् ।

महानगरका उपप्रमुख पार्वती शाहले निकै मेहनतका साथ करको दायरा बढाएर केही वृद्धि गरिएको बताइन् । उनले महानगरले गठन गरेको राजश्व परामर्श समितिले छलफल गरी केही विषयमा थपघट प्रस्ताव गर्न सक्ने उल्लेख गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले करको वर्गीकरणमा देखिएका समस्या समाधान गर्दै जाने बताए । । करको दर बढेकामा विरोध जनाउँदै आएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले करमा वर्गीकरणको आधार प्रष्ट नभएको, त्रुटि रहेको र वैज्ञानिक नभएको भन्दै सच्याउन आग्रह गरे ।

उद्योग वाणिज्य संघका निवर्तमान जिल्लाअध्यक्ष राजन गौतम संघका उपाध्यक्ष राजु पौडेलले पहिले कर तिरेर समृद्ध महानगर बनाउनु पर्नेमा जोड दिँदै करको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिए ।