म्याग्दी(रासस)–बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो ।


ADVERTISEMENT


परामर्शदाता छनोट गरेर गुरुयोजना निर्माणको तयारी गरिएको नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका ८ नं वडाका अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । उनका अनुसार गत फागुन २८ गते स्थगित भएको नगरसभा चैत २३ गते बस्ने भएको छ ।


ADVERTISEMENT

# # #


नगरसभाले आर्थिक र शिक्षा ऐन साथै प्रशासनिक र न्यायिक समितिको कार्यविधि पारित गर्ने प्रवक्ता बराइलीले जानकारी दिए । यसअघि आठवटा नियमावली तयार पारिसकेको कार्यपालिकामा चार वटा नियमावली छलफलका लागि पेश भएका छन् ।

प्रवक्ता बराइलीले रामायण पार्क, बेनी पात्लेखेत सडक कालोपत्र, खुल्ला मञ्च विस्तार, कालीपुल बसपार्क लगायतका योजनालाई नगरका गौरवका योजनाका रुपमा अघि बढाइने बताए । आँपरुख, गुफाको डिल र पौलत्स्यलाई समेटेर रामायण पार्क योजनाका लागि डिपिआर तयार पार्न अध्ययन भइरहेको बताए । पार्क बनाउन र रामको मूर्ति राख्न यस वर्ष ५० लाख विनियोजन भएको छ । प्रवक्ता बराइलीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नगरपालिकाले बजेट विनियोजन गरेका ८८ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयसँग समन्वय गरेर कालीपुल बसपार्कलाई व्यवस्थित गर्न लागिएको बराइलीले बताए । उनका अनुसार कालीगण्डकी पुलदेखि कालीपुल बसपार्क हुँदै वेष्ट पोइन्ट तलको सडक दुई लेनको कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ ।

क्याम्पसचोक र मंगलाघाटमा बाढी तथा पहिरो नियन्त्रणका लागि १२ लाख ५० हजार दरका दुई वटा योजना कार्यान्वयनको चरणमा छन् ।