काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ख्ला भएको छ । विषम् परिस्थितिका कारण बन्द गरेको अन्तरराष्ट्रिय विमानस्थल बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको हो ।
हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुहरुले आ–आफ्नो वायुसेवा कम्पनी संग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुन आग्रह गरिएको छ ।
मङ्गलबार दिउँसो २ः३० बजेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द रहेको थियो । गए राति १ः०० बजेसम्मका लागि बन्द गरिएको विमानस्थल पुनः आज सूचना निकालेर साँझ ६ः०० बजेसम्म बन्द गरिएको थियो । विमानस्थल कार्यालयले थप अर्को सूचना जारी गर्दै विमानस्थल खुल्ने समय अनिश्चित भएकाले विमानस्थलसम्बन्धी सूचनाका आधारमा सम्पर्कमा रहन वायुसेवा कम्पनीहरूलाई आग्रह गरिएको थियो ।
अन्तरराष्ट्रिय विमानस्थल बिहान ६ः०० देखि राति १ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।




























































