काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको बैठकले हालै देशभर भएका जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।


ADVERTISEMENT


मंगलबार मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न बैठकले उक्त घटनाक्रमबारे गम्भीर छलफल गर्दै आन्दोलनका नाममा भएको हिंसात्मक कार्यहरूको कडा शब्दमा भर्त्सना गरेको हो।


ADVERTISEMENT

# # #


बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका संरचना, सुरक्षा निकाय तथा राजनीतिक दलका कार्यालयमाथि भएको आगजनी तथा तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेको छ। साथै, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु देउवा राणामाथि भएको आक्रमणको पनि तीव्र विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको हालको राजनीतिक परिस्थितिमा देखिएको भूमिका प्रति आभार प्रकट गर्दै संविधान, राष्ट्रियता र लोकतन्त्रको संरक्षणमा उहाँको योगदानको प्रशंसा गरेको छ।

साथै, समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न संसदीय दलका सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र सामाजिक अभियन्तासँग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ।

प्रदेशसभाको प्रभावकारिता बढाउन अन्य दलसँग संवाद बढाउने र संसदीय समितिहरूलाई थप सक्रिय बनाउने निर्णयसमेत बैठकमा गरिएको छ।

बैठकले असोज ३ गते आउन लागेको संविधान दिवसलाई संविधानको सम्वद्र्धन र महत्त्व दर्साउने गरी संयमित ढङ्गले मनाउन सरकारलाई सुझाव दिने निर्णय पनि बैठकले गरेको छ ।