जुम्ला– जुम्ला जिल्लाको कनका सुन्दरी –१ की बिनिता भण्डारी अहिले २० वर्षकी मात्र भइन्, तर उनले ६ वर्षअघि नै बिहे गरिसकेकी छन् । उनी दुई सन्तानकी आमा समेत बनिसकेकी छिन् ।


ADVERTISEMENT


गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै थिइन् उनी । उमेर भर्खर १५ वर्षको थियो, गाउँकै १७ वर्षीय बलबहादुर भण्डारीसँग विवाह भयो । त्यतिखेर विहे भनेको के हो उनलाई केही पनि थाहा थिएन । बाआमाको दबाबमा आफू बिहे गर्न बाध्य भएको उनले गुनासो गरिन् । ‘१६ वर्षको भएको वेला पहिलो सन्तानको रूपमा छोरा जन्माएँ । कलिलै उमेर भएकोले सुत्केरी हुन निकै कठिन भयो,’ उनले अतीत सम्झिँदै भनिन्, ‘तीन वर्षपछि दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएँ ।


ADVERTISEMENT

# # #


श्रीमानले ८ कक्षासम्म पढेर छोड्नुभो । मेरो ६ कक्षामै पढाइ छुट्यो । न हातमा सीप छ न योग्यता नै । दुवै जना बेरोजगार । घरको आर्थिक अवस्था निकै नाजुक । कसरी जिन्दगी बिताउने रु सानैमा विहे गरेकोमा पछुतो उनले सानैमा बिहे गरेकोमा पछुतो लागेको बताइन् । कलिलै उमेरमा विहे गरेर बच्चा जन्माएको हुँदा उनको र बच्चाको स्वास्थ्य अवस्था कमजोर देखिएको छ । बच्चाहरूलाई कुपोषणले सताएको छ । आफ्नै बारीमा लगाएको अन्नले गुजारा नचलेपछि घर खर्च चलाउन भन्दै उनका श्रीमान् पाँच महिना अघि कामको खोजीमा कालापहाड (भारत) गएका छन् । घरमा सासु ससुरा, देवर, नन्द, छोरा, छोरी र म छौँ, बिहान बेलुकाको छाक टार्न पनि निकै मुस्किल पर्छ, उनले भनिन्।

सोही ठाँउकी पदमी बुढाको उमेर अहिले भर्खर १८ वर्षको भयो । उनको पनि तीन वर्ष अघि नै बिहे भइसकेको छ । उनको काखमा दुई वर्षकी छोरी छन् । श्रीमान् रामबहादुर बुढा वैदेशिक कामको सिलसिलामा एक वर्षदेखि भारतमा छन् । उनी ८ कक्षामा पढ्दै थिइन्, उमेर १५ वर्षको थियो । त्यतिखेरै पदमी र रामबहादुरका परिवारबीच कुराकानी चल्यो, उनीहरूको बिहे गराईदिए ।

विहे गरेसँगै उनको पढाइ छुट्यो । बुहारीको रूपमा उनले घरमा खाना पकाउने, भाँडा माझ्ने, गाई बाख्राको गोठालो गर्ने, घाँस काट्ने काम नै उनको दिनचर्या बन्न थाल्यो। बिहे गरेपछि अझ खुसी हुने र आफ्नो र परिवारको सुन्दर भविष्यको कल्पना गर्ने अवस्था हो तर, पवित्राका लागि विहे साँच्चिकै बोझको रूपमा सावित भएको छ ।

‘मलाई विवाह के हो रु किन विवाह गर्छन् केही थाहा थिएन । बाआमाको आदेशले विवाह गरेँ। पढ्न पनि पाइनँ।’ उनले गुनासो गदै भनिन् ‘उमेर नपुगेर विवाह गर्नु र गराउनु दुवै बेठिक रहेछ । मैले गरेपनि मेरा सन्तानलाई उमेर नपुगेर बिहे गराउँदिन । केटाकेटीलाई राम्रोसँग पढाउँछु । शिक्षा नै ठुलो कुरा रहेछ ।’

विनिता र पदमी मात्र होइन गाउँमा १५ वर्ष नपुग्दै बिहे गरेका तीन दर्जनभन्दा बढी आमाहरू छन् । यो गाँउमा मात्र होइन जिल्लाका ग्रामीण भेगमा उमेर नपुग्दै बिहे गर्न परिवारले नै प्रोत्साहन दिने गरेका छन् । केटीको उमेर नपुगे पनि केटा पक्षले कुरा चलाए आमाबाबुले नै विहे गरिदिने गरेको पाइन्छ ।

यो चलन संस्कारकै रूपमा चल्न थालेको छ । केही शिक्षित परिवारले छोराछोरीको पठनपाठनमा ध्यान दिने गरेको भए पनि अन्यले छोरीलाई घरमा -माइतीमा) राख्यो भने बिग्रन्छन्। छिटै बिहे गरे पुण्य कमाइन्छ भन्ने रूढीवादी सोचले गर्दा पनि यहाँका किशोरीहरूको उमेर नपुग्दै विहे हुने गरेको छ ।

गरिब, दलित र निम्न आय स्तर भएका परिवारमा आमाबाबुले नै कलिलै उमेरमा विहे गर्ने प्रवृत्ति बढ्दो भएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । अलि पढेलेखेका र हुनेखाने घरका केटाकेटी पनि बढ्दो प्रविधिको प्रयोग र देखासिखीले गर्दा पढ्दापढ्दै बिहे गर्ने चलन धेरै रहेको स्थानीय शिक्षक कालीबहादुर भण्डारीले बताए । बढ्दो बालविवाह अहिले चुनौतीको रूपमा देखिएको उनको भनाइ छ।

कलिलै उमेरमा विवाह गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ । उमेर नपुग्दै गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर हुनुका साथै त्यस्ता अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिने गरेको छ । उमेर नपुग्दै गरिने विवाहका कारण सम्बन्धविच्छेदका घटना पनि बढ्दै गएका छन् ।