उत्तरी छिमेकी चीनले नेपालको विकास सहयोगमा भारत र चीनको साझा धारणा हुनु पर्ने बताएको छ।


ADVERTISEMENT


चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्री वाङ यीले आजको भेटमा हिमालयपार सम्पर्क सञ्जाल बनाउने समझदारी भएको र त्यो तीन देशबीचको आर्थिक करिडोर बन्न सक्ने बताए।


ADVERTISEMENT

# # #


‘हामीलाई विश्वास छ राम्ररी विकास गरिएमा त्यस्तो सम्पर्क सन्जालले चीन, नेपाल र भारतलाई जोड्ने आर्थिक करिडोर बन्ने परिस्थिति सिर्जना गर्न सक्छ। यस्तो खालको सहकार्यले तीनै देशको विकास र सम्मृद्धिमा योगदान गर्न सक्छ भन्ने हामीलाई आशा छ,’ उनले भने।

यीले नेपालले भारत र चीनसँगको सम्बन्ध सावधानीपूर्वक सन्तुलित राख्नुपर्ने मान्यता गलत भएको बताए।

‘चीन, नेपाल र भारत प्राकृतिक मित्र र साझेदार हुन् भन्ने मेरो विश्वास छ। उही हिमाल र नदीहरूले जोडिएका हामी छिमेकी हौं,’ ज्ञवालीसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङले भने, ‘ चीनमा भनिएजस्तै, पारिवारिक सदस्य र छिमेकीले एकअर्काको राम्रोको कामना गर्छन्।’

नेपालले दुबैतिरका छिमेकीबाट सहयोगको अपेक्षा गर्नु स्वभाविक भएको वाङले बताए।

‘नेपाल, चीन र भारतको सहयोग र विकासका लागि प्राकृतिक लाभग्राही हो। यो स्वभाविक चाहनामा भारत र चीन दुबैको सहयोग हुनुपर्छ,’ वाङले भने।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले आजको भेटवार्तामा नेपाल र चीनबीच हिमालय पार रेल्वे निर्माणको सम्भाव्यता छिट्टै अध्ययनबारे छलफल भएको बताए।

‘हिमाल सुन्दरताको आनन्द लिँदै नेपालबाट आधुनिक रेल चढेर चीन आउने मेरो सपना छ,’ ज्ञवालीले भने।

भेटमा तातोपानी नाका सञ्चालन गर्नेबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनको पनि भेटमा समीक्षा भएको थियो।

ज्ञवालीले विदेशमन्त्री वाङ यीलाई भेट्नु अघि उप राष्ट्रपति वाङ क्विसानसँग भेटवार्ता गरेका थिए। ६ दिने चीन भ्रमणका लागि ज्ञवाली गत सोमबार बेइजिङ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालका क्रममा भएको चीन भ्रमणका दौरान चीन र नेपालबीच अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणको समझदारी भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि ज्ञवाली बेइजिङ पुगेका हुन्। चीन जानुअघि ज्ञवालीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ र कनेक्टिभिटीका विषयमा छलफल गर्ने बताएका थिए।