काठमाडौं– नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु २१ दिनदेखि आन्दोलनरत छन्। उनीहरु आर्थिक तथा सेवा सुविधा सम्बन्धी आफूहरुको माग पुरा गर्नुपर्ने दावी गर्दै लगातार आन्दोलनमा रहेका छन्।
आइतबार साँझ पहिलोपटक बोर्डको संचालक समितिसँग छलफल भए पनि अहिलेसम्म कुनै समाधान नआएपछि कर्मचारीहरुले आन्दोलन थप चर्काउने तयारी गरेका छन्।
कर्मचारीहरूले बिहान कार्यालय समयको पहिलो १ घण्टा धर्ना बस्ने र दिनभर काम ठप्प गर्ने गरिरहेका छन्। पेन डाउनका कारण धितोपत्र बोर्डको सबै दैनिक प्रशासनिक कामकाज ठप्प छ। जसले गर्दा निष्कासन अनुमति समेत अवरुद्ध हुन पुगेको छ।
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको थियो।
अझै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने समेत निर्देशनमा भनेको थियो। सोही निर्देशन विरुद्ध कर्मचारी २० दिन देखि निरन्तर विरोधमा छन्।



























































