काठमाडौं–सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ ।


ADVERTISEMENT


जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडीको बिक्रीमा ४० प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई ठगी गरेको भेटिएको हो । उक्त कम्पनीले इकोस्पोर्ट टाइटानियम गाडीको बिक्रीमा करिब १२ लाख ३२ हजार रुपियाँ कुल नाफा राखेर उपभोक्तालाई बिक्री गर्दै आएको देखिएको छ ।


ADVERTISEMENT

# # #


कुल बिक्री मूल्य ३० लाख ५७ हजार ३ सय ८२ रुपियाँ रहेको उक्त गाडीमा कम्पनीले १२ लाख ३२ हजार ६ सय १८ रुपियाँ अतिरिक्त शुल्क लिई ४२ लाख ९० हजार रुपियाँमा बेच्ने गरेको छ । कुल मूल्य र बिक्री मूल्यबीचको अन्तर हेर्दा कम्पनीले ४० प्रतिशत खुद नाफा राखेर गाडी बेच्ने गरेको देखिन्छ । जुन रकम उपभोक्ताबाट ठगेको अतिरिक्त रकम हो ।

जीओ अटोमोबाइल्स कम्पनीले उपभोक्ता ठगी गरेको यो पहिलो घटना भने होइन । केही समयअघि मात्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनमा सोही कम्पनीले बेच्दै आएकोे ‘इको स्पोर्ट फोर्ड’ १ दशमलव ५ लिटर पेट्रोल गाडी र ‘फिगो एस्पार ट्रेन्ड’ गाडीको बिक्रीमा वास्तविक मूल्यभन्दा ४० प्रतिशतभन्दा बढी रकम उपभोक्ताबाट असुलेको भेटिएको थियो ।

विभागले उक्त कम्पनीविरुद्ध ठगी तथा कालोबजारीको मुद्दामा कारबाहीको प्रक्रियासमेत अगाडि बढाएको थियो। तर राजनीतिक पहुँचका आधारमा ती मुद्दालाई थामथुम पारिएको छ । ठूला व्यापारीले बजार अनुगमन कार्यलाई तत्काल रोक्न भन्दै शक्ति केन्द्र र सरकारलाई निरन्तर दबाब दिएपछि अनुगमनका कुनै पनि फाइल थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन । – आजको नेपाल समाचारपत्रबाट