काठमाडौं–पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनको पहल गर्ने बताएका छन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन् ।


ADVERTISEMENT


आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै पुनरावलोकनको पहल गर्ने बताएका छन् । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै आदिवासी जनजाति नेताहरु बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले सरकारले हटाएका सांस्कृतिक पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका थिए ।

जवाफमा प्रचण्डले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने बताएका थिए । प्रचण्डले भने, ‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन । बिदाको पक्षमा तपाईंहरुलाई मेरो सहयोग हुन्छ ।’

अध्यक्षले प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताएका छन् । आदिवासी जनजातिका अगुवाहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सल्लाहबिना नै बिदा कटौति गरेको बताए ।

उनीहरुले आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निस्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामांकनमा पहिचान छुटाएको लगायतका गुनासा गरेका थिए ।

बादलको फरक लाइन
माओवादी अध्यक्ष प्रचण्डले विदा कटौतीबारे असन्तुष्टि राखे पनि माओवादी केन्द्रकै महासचिवसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलले भने विदा कटौती सही भएको बताएका छन् ।

केहीदिन अघि आदिवासी जनजाति महासंघका पदाधिकारीहरु विदा कटौतीको निर्णय पुनर्विचार गर्न माग गर्दै गृहमन्त्री बादललाई भेट्न पुगेका थिए । सो भेटमा गृहमन्त्रीले आदिवासी नेताहरुलाई भने, ‘देशमा विदा बढी भएको छ, हामीले काम गर्नुपर्छ । वर्किङ आवर नबढाई समृद्धि हासिल हुँदैन ।’

मन्त्री बादलले यस वर्षको विदाबारे सरकारले निर्णय गरिसकेको हुनाले यस वर्ष यो निर्णय फेरबदल गर्न गाह्रो हुने बताएका थिए ।

प्रधानमन्त्रीले भेटै दिएनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले भने आदिवासी जनजातिका प्रतिनिधिलाई भेट नै नदिएको गुनासो महासंघका पदाधिकारीहरुले गरे ।

महासंघका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीसँग डाइरेक्ट फोन हुँदैन, राजेश शाक्यलाई फोन गर्दा हामीलाई रेस्पोन्स नै गर्न मानेनन् । हामीले प्रधानमन्त्रीसमक्ष आफ्ना कुराहरु राख्नै पाएनौं ।’