काठमाडौँ –नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनायो । १३० रनको सामान्य चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रनमै समेटिएको हो । यससँगै जनकपुर एनपीएलको ८ टोलीमध्ये अन्तिम स्थानमा रहँदै आफ्नो यात्रा टुंग्याएको छ भने कर्णाली छैटौँ स्थानमा समेटिएको छ ।


ADVERTISEMENT

# # #


जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ५१ रनको अर्धशतकीय पारी खेले । त्यसक्रममा उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । यस्तै सञ्जित कूरेले २५ तथा माज सदकातले १२ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ कर्णालीका विल बसिस्टोले सर्वाधिक २ विकेट लिए । यस्तै मार्क वाट, पवन सर्राफ, नन्दन यादव र कप्तान सोमपाल कामीले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ कर्णालीका इमरान शेखले सर्वाधिक ३३ रन जोडे । सो क्रममा उनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान सोमपाल कामीले नटआउट १८, गुल्शन झाले १९, प्रियंक पञ्चलले १६, विलियम वसिस्टोले १५ रन बनाए ।

जनकपुरका लागि आदित्य महता र ललित राजवंशीले २–२ विकेट हात पारे । यस्तै सञ्जित कूरे, अनिल शाह र माज सदकातले समान १–१ विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।