काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर–१ मा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार ४ः०० बजे सुरु हुनेछ ।
आज हार्ने टोली प्रतियोगिताबाट बाहिरिले र जित्ने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर–२ खेल्ने भएकाले दुवै टोलीलाई आज जित्नैपर्ने दबाब रहेको छ ।
८ टोलीले प्रतिस्पर्धा गरेको एनपीएलमा सुदूरपश्चिम अंक तालिकाको पहिलो र विराटननगर दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेका थिए । यस्तै काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो र चौथो हुँदै इलिमिनेटरमा पुगेका थिए ।
हिजो भएको खेलमा ७७ रनको जितसहित सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनल प्रवेश गरिसकेको छ भने पराजित विराटनगरले फाइनल प्रवेशका लागि आजको खेलको विजेतासँग भिड्नुपर्ने छ ।
प्रतियोगिताको फाइनल आगामी शनिबार हुनेछ ।



























































