काठमाडौँ – नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा आवश्यक तयारी तीव्र बनाइएको छ ।
सल्लाघारी चौरमा मञ्च लगाएका अन्य अस्थायी पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारिएको हो । उद्घाटन स्थलमा मञ्च निर्माणका साथै शौचालय, अतिथिहरुलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण कार्य तीव्र पारिएको छ । यही मङ्सिर २७ गते सल्लाघरी चौरमा उद्घाटन सत्र सुरु गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको एमालेले जनाएको छ ।
महाधिवेशनलाई सफल बनाउन आवश्यक सवै तयारी तीव्र ढंगले अघि बढेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए । उनले पार्टीको नेतृत्व सकेसम्म सहमति र सहमति नभए लोकतान्त्रीक विधिबाट टुङ्गो लगाउने बताए । दाहालले पदाधिकारीमा आफ्नो दावेदारी रहने भन्दै नेताहरुसंग छलफल भइरहेको जिकिर गरे ।
राष्ट्रिय महाधिवेशन आउन केहि दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समेत नेताहरु चहलपहल बाक्लो भएको छ । पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा नेता तथा कार्यकताहरु समेत छलफलमा व्यस्त छन् । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिसकेको छ ।



























































