काठमाण्डौं– पुरानो बानेश्वर अवस्थित फ्रन्टलाइन अस्पतालले हाल नेपालका विभिन्न जिल्लाबाट सहभागी भएका ३२ जना एम्बुलेन्स चालकहरूलाई लक्षित गर्दै जीवन–रक्षक (बीएलएस) तालिम संचालन गरेको छ ।
आपतकालीन स्वास्थ्य सेवामा एम्बुलेन्स चालकहरूको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै उनीहरूको सीप अभिवृद्धिका लागि यो तालिम आयोजन गरिएको अस्पतालले जनाएको छ।
एम्बुलेन्स चालकहरू प्रायः गम्भीर अवस्थाका बिरामीहरूसम्म सबैभन्दा पहिला पुग्ने भएकाले, समयमै गरिएको सही हस्तक्षेप जीवनरक्षाका लागि अत्यन्तै महत्वपूर्ण हुने अस्पतालले बताएको छ।
तालिम सत्रको संयोजन फ्रन्टलाइन अस्पतालका मेडिकल एडमिनिस्ट्रेटर तथा इमर्जेन्सी फिजिसियन डा. रोहन झाले गर्नुभएको थियो। उनले सहभागीहरूलाइ बरामीको प्राथमिक मूल्यांकन, आपतकालीन संवाद प्रक्रिया लगायत जीवन–रक्षक सीपहरूमा विस्तृत र व्यावहारिक प्रशिक्षण प्रदान गरे । सहभागीहरूले वास्तविक जस्तै परिस्थितिमा अभ्यास गर्दै आपतकालीन अवस्थामा आत्मविश्वासपूर्वक र दक्षतापूर्वक काम गर्न सक्ने क्षमताको विकास गरेका छन्।
फ्रन्टलाइन अस्पतालका अनुसार, यस पहलको उद्देश्य केवल प्राविधिक ज्ञान वृद्धि गर्नु मात्र नभई एम्बुलेन्स चालकहरूको मनोबल, तयारी र निर्णय क्षमतालाई सुदृढ बनाउने पनि रहेको छ। संकटका क्षणहरूमा बिरामीको पहिलो सम्पर्क बिन्दु एम्बुलेन्स चालक नै हुने भएकाले, उनीहरूको सीप विकासले देशभरका बिरामीहरूको आकस्मिक स्वास्थ्य उपचारमा सकारात्मक प्रभाव पर्ने अस्पतालको भनाइ छ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई जीवनरक्षामा उनीहरूको समर्पण र प्रतिबद्धताको सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो। यो कार्यक्रम प्रमाणपत्र वितरण मात्र नभई नेपालमा आपतकालीन स्वास्थ्य सेवाको मापदण्ड सुधारतर्फको महत्वपूर्ण कदमको रूपमा मूल्यांकन गरिएको छ।
डा. रोहन झाका अनुसार, फ्रन्टलाइन अस्पतालले भविष्यमा पनि यस्ता क्षमता अभिवृद्धि तथा आकस्मिक स्वास्थ्य सेवा सुधार केन्द्रित तालिमहरू निरन्तर सञ्चालन गर्ने लक्ष्य लिएको छ।
अस्पतालले गुणस्तरीय र सहज पहुँचयोग्य स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने तथा राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा प्रणाली सुदृढ पार्ने आफ्नो मिशनअन्तर्गत यस्ता अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए।
तालिममा सहभागी विभिन्न जिल्लाका एम्बुलेन्स चालकहरूले फ्रन्टलाइन अस्पतालप्रति आभार व्यक्त गर्दै, भविष्यमासमेत आकस्मिक स्वास्थ्य सेवा उकास्न अस्पतालसँग निरन्तर सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्।






























































