काभ्रे – नेपाली कम्युनिष्ट आन्दोलनभित्र युवालाई आशा, दिशा र आत्मविश्वास दिने नेतृत्वका रूपमा अमित लामाको नाम अगाडि आएको छ।
काभ्रे जिल्लाको रोशी गाउँपालिका–१ खहरेपागुमा वि.सं. २०४३ साल मंसिर ८ गते साधारण किसान परिवारमा जन्मिएका लामाले बाल्यकालदेखि नै समाज र सामूहिक हितलाई प्राथमिकतामा राख्दै आफ्नो जीवन यात्रा अघि बढाएका छन्। सुविधाभन्दा जिम्मेवारी र अवसरभन्दा कर्तव्य रोज्ने सोचले उनलाई राजनीतिमा निरन्तर सक्रिय बनाएको बताइन्छ।
युवावस्थामै गाउँकै चेतना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालेका लामाले नेतृत्वलाई पद होइन, सेवा हो भन्ने सन्देश दिएका थिए। शिक्षा सुधार, सामाजिक चेतना अभिवृद्धि र युवाको सहभागिता बढाउन उनले खेलेको भूमिकालाई स्थानीयले सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।
उनको राजनीतिक यात्रा गाउँ कमिटी संयोजकबाट सुरु भएर पालिका उपसंयोजक, क्षेत्रीय कमिटी सदस्य, जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्यसम्म पुगेको छ। विभिन्न तहमा निरन्तर जिम्मेवारी सम्हाल्दै उनले संगठन सुदृढीकरण र युवाको आत्मविश्वास बढाउन भूमिका खेलेको एमाले नेताहरू बताउँछन्।
युवा संघ नेपालमा उनको नेतृत्व अझ स्पष्ट रूपमा देखिन्छ। विभागीय सदस्यदेखि केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै लगातार तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेका लामाले युवालाई परिवर्तनको शक्ति मान्दै रोजगार, शिक्षा, समान अवसर र सामाजिक न्यायका विषयमा बहस र अभियान सञ्चालन गर्दै आएका छन्।
नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशनबाट अत्यधिक मतसहित निर्वाचित हुनु र काभ्रे क्षेत्र नम्बर १ बाट उम्मेदवारका रूपमा सिफारिस हुनु उनको राजनीतिक यात्राप्रति बढ्दो भरोसाको संकेतका रूपमा हेरिएको छ।
राजनीतिप्रति युवामा निराशा बढिरहेको वर्तमान अवस्थामा अमित लामाको संघर्षपूर्ण यात्रा इमानदारी, अनुशासन र निरन्तर प्रयासले समाज परिवर्तन सम्भव छ भन्ने सन्देश दिने नेताहरूको धारणा छ। युवाका लागि नेतृत्व भनेको भाषण होइन, कर्म र सेवाको माध्यम हो भन्ने मान्यतालाई उनले व्यवहारमा उतार्दै आएको बताइन्छ।































































