पोखरा–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशको अर्थतन्त्र माफिया, तस्कर र ठेकेदारको हातमा रहेको बताएका छन् । ‘तिनीहरुले अर्बौंको राजस्व छली गरेका छन्’, उनले भने । विकास र समृद्धिको लागि तस्करीतन्त्र अन्त्य जरुरी रहेको आवश्यकता गृहमन्त्री थापाले औंल्याए । आइतबार प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिएका उनले सोमबार बिहान पत्रकारहररुसँग भने, ‘सिन्डिकेटधारीको हैकम अन्त्य जरुरी छ भन्ने हाम्रो गोष्ठीको पनि निष्कर्ष हो ।’


ADVERTISEMENT


सिन्डिकेटकै कारण बहुसंख्यक टाट पल्टने र मुठीभर व्यक्ति मोटाउने भइरहेको हुँदा खुला प्रतिस्पर्धाका आधारमा सबैलाई मौका दिनुपर्ने गृहमन्त्री थापालेले बताए । उनले एकाधिकार, कालो बजारी र लागु औषध विकासका बाधक रहेको धारणा व्यक्त गरे । ‘विकास र समृद्धिका लागि शान्ति र सुशासन अपरिहार्य छ’, उनले भने भ्रष्टाचार र सिन्डिकेटलाई जरैदेखि समाप्त पार्न जरुरी छ ।


ADVERTISEMENT

# # #


यातायात व्यवसायीले गैरसरकारी संस्था बनाएर बैंकमा जम्मा गरेको पैसा रोक्का गरिसकिएको र त्यो पैसा राज्यको हुने उनले बताए । ‘त्यो पैसा अवैध हो’, प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने । यातायातको सिन्डिकेट हटेको अनुभूति सर्वसाधारणले विस्तारै गर्दै जाने अभिव्यक्ति उनले दिए ।

अहिले सरकार छिमेकीसँगको सम्बन्ध सुदृढीकरणमा लागेको र ती कदमहरु विकास र समृद्धि लक्षित रहेको गृहमन्त्रीले सुनाए । ‘भर्खरै भारतीय प्रधानमन्त्रीको भ्रमण भएको छ, उत्तर छिमेकका राष्ट्रपतिको भ्रमण हुनेछ’, उनले भने, ‘चीनले अघि सारेको ओबिओर २१ औं शताब्दीको विश्वकै विकासको गुरुयोजना हो, त्यसमा नेपालले हस्ताक्षर गरिसकेको छ ।’

जाति, धर्म र क्षेत्रका नाममा अस्थिरता पैदा गर्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै उनले ती सबैलाई निस्तेज पार्न सरकार लागि परेको पनि सुनाए । ‘भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका बेला स्वतन्त्र मधेसका ब्यानरहरु देखिए, ती हाम्रो राष्ट्रिय अखण्डता विरोधी हुन्’, उनले भने ।

प्रदेश सरकारको मातहतमा प्रहरी आइनसकेको प्रसंगमा गृहमन्त्रीले नयाँ प्रहरी ऐन आइसकेपछि समस्या समाधान हुने जानकारी दिए । अहिले देखिएको समस्यालाई उनले संक्रमण कालको उपजको संज्ञा दिए ।
गृहमन्त्री थापाले मदिराको व्यापार अनियन्त्रित भएको हुँदा त्यसलाई व्यवस्थित गरिने जानकारी दिए ।

मदिराकै कारण घरेलु हिंसा बढेको, दिदीबहिनीहरु पीडित भएको र युवा पिढी बिचलित भएको उनको भनाइ थियो । ‘मदिरा निषेध गर्ने भनेका छैनौं, व्यवस्थित गर्ने हो’, उनले भने, ‘कतिपय देशमा पूरै निषेध छ, हामी मदिरा अभियान चलाउँछौं र व्यवस्थित गर्छौं ।’ शान्ति र स्थिरताकै लागि २ कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुने लागेको उनको भनाइ थियो । पार्टी एकता छिटै हुने उनले बताए ।