काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा आयोजित प्रादेशिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
मुख्यमन्त्री बानियाँले कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै मुलुकको निकासका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको बताए। लोकतन्त्रको रक्षाका लागि निष्पक्ष र धाँधलीरहित निर्वाचन आवश्यक छ, उनले भने, निर्वाचनपछि बन्ने नयाँ संसदले मात्र सुनचाँदी व्यवसायीका लागि स्पष्ट ऐन र कानुन निर्माण गर्न सक्छ।
उनले सुनचाँदी तथा आभूषण व्यवसायलाई केवल विलासिताको साधनका रूपमा हेर्नु गलत भएको बताउदै सुनचाँदी नेपाली संस्कार, धर्म र पहिचानसँग गहिरो रूपमा जोडिएको विषय भएको उल्लेख गरे।
मुख्यमन्त्री बानियाँले प्रमाणविहीन सुनको कारोबार गर्दा व्यवसायीहरू कानुनी झमेलामा पर्ने गरेको उल्लेख गर्दै अवैध सुनको किनबेच पूर्ण रूपमा बन्द गर्नुपर्नेमा जोड दिए। प्रमाण नभएको सुन किन्दा धेरै व्यवसायी जेल जानुपर्ने अवस्था आएको छ। सम्मानित व्यवसायका लागि अवैध कारोबार अन्त्य गर्न आवश्यक रहेको बताए ।
मुख्यमन्त्री बानियाँले भने, पूर्वीय दर्शनमा लक्ष्मी र नारायणलाई पनि सुन र रत्नले सुसज्जित देखिन्छ। यो सत्ययुगदेखि चल्दै आएको हाम्रो संस्कृति हो । त्यसैले राज्यले यसलाई विलासिता मात्र भनेर हेर्नु हुँदैन, यो हाम्रो आधारभूत पहिरन र परम्परा हो।
बजारमा सुनको अभाव हुँदा चोरी पैठारी बढ्ने तर्क गर्दै उनले व्यवसायीहरूको माग र खपतको आधारमा राज्यले वैधानिक बाटोबाटै सुन आयात गर्ने व्यवस्था गर्नुपर्ने बताए। माग अनुसारको आपूर्ति भएमा अवैध कारोबार स्वतः अन्त्य हुन्छ, उनको भनाइ थियो।
उनले १३ प्रतिशत भ्याटको व्यावहारिक समाधान खोज्नुपर्ने, आयातको समयमा कर व्यवस्थापन सहज बनाई सर्वसाधारणलाई मर्का नपर्ने नीति अवलम्बन गर्नुपर्नेमा पनि जोड दिए।



























































