तुलसीपुर–निर्माणको जिम्मा लिएर समयमै काम पूरा नगर्ने निर्माण व्यवसायीलाई दाङ प्रशासनले पक्राउ गर्न सुरु गरेको छ । जिल्लाका पुल र सडक योजना निर्माणको लागि सम्झौता गरी काम नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गर्न सुरु गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उनले त्यहीअन्र्तगत बिहीवार दुई जनालाई पक्राउ गरिएको बताए ।


ADVERTISEMENT


‘काम गर्ने सम्झौता गरेर समयमै काम नगरी ढिलासुस्ती गरेकाहरूलाई पक्राउ गर्न सुरु गरेको छौं,’ उनले भने, ‘अब यो वा त्यो बहानामा निर्माण व्यवसायीहरूले छुट्कारा पाउने छैनन् ।’ उनले सूचिअनुसार प्रहरीले निर्माण व्यवसायीहरूलाई नियन्त्रणमा लिने बताए । ‘केही व्यक्ति समातिएपछि अरु व्यवसायी लुक्न थालेका छन्,’ प्रजिअ श्रेष्ठले भने, ‘तिनीहरूको पनि खोजी जारी छ ।’ उनीहरूले १८ महिनामा सक्नुपर्ने काम चार वर्षमा पनि नसकेपछि पटक–पटक गुनासो बढ्दै गएको अवस्थामा प्रहरीले दुबैलाई बिहीबार पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


दाङ प्रहरी प्रमुख दुर्गा सिहले घोराहीको सडक निर्माण र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई घोराहीबाट र तुलसीपुरको चारलेनको सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी प्रकाश महतरालाई तुलसीपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिइन् ।

उनले अन्य निर्माण व्यवसायीहरूको सूची तयार पारी खोजी कार्य तिव्र पारिएको बताइन् । समयमै निर्माणका काम सम्पन्न नगर्ने व्यवसायीका कारण जिल्लाको विकास निर्माणको काममा समस्या हुँदै आएको छ भने नागरिकहरूले सास्ती भोग्दै आएका छन् । निर्माणको काममा ढिलाइ गर्ने २२ जनाको सूची तयार भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।