हेटौंडा – शनिबार हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित नौमति बाजा बजाउने तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सीपमूलक तालिमले विशेषगरी महिलाहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँले नौमति बाजाजस्तो मौलिक कला र संस्कृतिको संरक्षणमा बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पदमपोखरीका महिला दिदीबहिनीहरूले लिएको तालिमलाई आगामी दिनमा निरन्तरता दिन आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाए। उनले सहकारीमार्फत महिलाहरूमा नेतृत्व तथा व्यक्तित्व विकास हुनुका साथै विभिन्न सीपमूलक तालिमले आत्मनिर्भर बन्न उल्लेख्य टेवा पुगेको बताए। “कला क्षेत्र आम्दानीको स्रोत पनि हो, बाजासँगै नृत्य र गायनलाई समेत सँगै अघि बढाउनुपर्छ,” उनले भने।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले विभिन्न सभा–सम्मेलन तथा सार्वजनिक कार्यक्रमहरूमा अनिवार्य रूपमा पञ्चेबाजा बजाउने व्यवस्था गरिए कला–संस्कृति जगेर्नामा थप योगदान पुग्ने धारणा राखे।

कार्यक्रममा हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामाले सहकारीले स्वरोजगारमूलक तालिम सञ्चालन गर्दै आएकाले वडा र नगरपालिकाबाट आवश्यक समन्वय र सहकार्य आगामी दिनमा पनि जारी रहने बताए। उनले बाजा बजाउने सीप अभ्याससँगै निखारिँदै जाने भएकाले सहभागीहरूलाई निरन्तर अभ्यास गर्न आग्रह गरे।

तालिममा सहभागी लक्ष्मी ओझाले १५ दिनको तालिम अपुग भएको उल्लेख गर्दै थप एडभान्स तालिम आवश्यक रहेको बताइन्। “थप तालिमको अवसर पाए हाम्रो टिम अझ सशक्त भएर अघि बढ्न सक्छ,” उनले भनिन्।

संस्थाकी अध्यक्ष मीना थापाको अध्यक्षता तथा मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख महेन्द्र चापागाईं, संस्थाका पूर्वअध्यक्ष लक्ष्मी थिङ, लेखा समिति संयोजक विष्णुमाया लामा, सिन्धुली कला घरकी प्रशिक्षक सञ्चिता थापामगर, पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी, संस्थाकी उपाध्यक्ष दीपा लामालगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानका अनुसार चैत ७ गतेदेखि सुरु भएको १५ दिने तालिममा ३० जनाको सहभागिता रहेको थियो।