काठमाडौँ – सर्वोच्च अदालतले पूर्वधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकविरुद्धको मुद्दामा यही बिहीबार (चैत्र २६) गतेसम्म अनुसन्धान गरिसक्न आदेश दिएको छ ।
ओली र लेखक पक्षले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले उनीहरुलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।
“जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।
गत भदौ २३ र २४ को घटनासम्बन्धी घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ओली र लेखकलाई चैत्र १४ गते पक्राउ गरिएको थियो । गत बिहीबार अदालतले २ दिनको म्याद दिएर उनीहरुमाथि अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
पक्राउ परेका ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् छ भने लेखकलाई प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ ।



























































