दोलखा – नेपाली कांग्रेस दोलखाले बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले छापामार शैलीमा अनुसन्धान गरिएको भन्दै आपत्ति जनाएको छ ।
जिल्ला सभापति वर्मा लामाद्वारा जारी विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुनै पूर्वसूचना बिना निवास तथा पूर्वसंलग्न कम्पनीहरूमा छापा मार्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा लोकतन्त्र, सुशासन, प्रेस स्वतन्त्रता, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि निरन्तर संघर्ष गर्दै आएका व्यक्तित्वमाथि गरिएको व्यवहारले लोकतन्त्रवादी नागरिकको मनोबल कमजोर बनाउने दाबी गरिएको छ ।
कांग्रेसले राज्यका तर्फबाट हुने अनुसन्धानमा सधैं सहयोग रहने स्पष्ट पार्दै फरक राजनीतिक दलका नेतामाथि पूर्वाग्रही व्यवहार गरिएको भन्दै खेद व्यक्त गरेको छ ।
त्यस्तै, सुकुम्बासीको उचित व्यवस्थापन नगरी घरटहरा भत्काउने कार्य पनि निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस दोलखाले सरकारका गतिविधिले लोकतन्त्र र मानवअधिकारप्रति असंवेदनशीलता देखाएको आरोप लगाउँदै यस्ता कार्य तत्काल रोक्न माग गरेको छ



























































