कालीकोट- नेपालको कर्णाली प्रदेशको कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ मा आज श्री जनज्योति माध्यमिक विद्यालयको भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
भारत सरकारको आर्थिक सहयोग करिब नेरु। ९.३ करोडमा विद्यालयको भवन निर्माण हुँदैछ ।


ADVERTISEMENT


यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिनेछ ।


ADVERTISEMENT

# # #


यो नेपालको कालीकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरुले नयाँ पूर्वाधारले सान्नीत्रिवेणी गाउँपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत महामहिम  नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत यस परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई दोहोर्याएका छन् ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता भारत सरकारद्वारा नेपालका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू सञ्चालन गरिएका छन् । यसमध्ये १८ वटा परियोजनाहरू कर्णाली प्रदेशका विभिन्न क्षेत्रहरूमा अवस्थित छन् ।

यसका अतिरिक्त, भारत सरकारले कालीकोटमा ४ वटा एम्बुलेन्स र २ वटा स्कुल बस सहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।