हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि नागरिक सडकमा आश्रित भएर जीवन बिताउन बाध्य हुनु नपर्ने बताएका छन्।


ADVERTISEMENT


बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सडक आश्रित सहयोगापेक्षी मानवमुक्त बागमती  प्रदेश घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मानवताको रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताए।


ADVERTISEMENT

# # #


उनले सडकमा पुगेका नागरिकलाई केवल उद्धार गरेर मात्र नहुने, उनीहरूको पुनःस्थापना, उपचार, सीप विकास र परिवार तथा समाजमा पुनःएकीकरण गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री बानियाँले सामाजिक संघसंस्था, स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको सहकार्यबिना यस्तो अभियान सफल हुन नसक्ने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गरे। उनले सडक आश्रित नागरिकलाई सम्मानजनक जीवन दिने अभियानलाई प्रदेश सरकारले निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले बागमती प्रदेशलाई सहयोगापेक्षी मानवमुक्त बनाउने अभियानलाई केवल घोषणामा सीमित नराखी व्यवहारमा उतार्ने सरकारको लक्ष्य रहेको बताएका छन्। यसका लागि आवश्यक नीतिगत, संस्थागत र बजेट व्यवस्थापनमा प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ छ।

मुख्यमन्त्री बानियाँले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै असहाय र सहयोगापेक्षी नागरिकको संरक्षणमा योगदान गर्ने व्यक्ति तथा संस्थाको प्रशंसा गरेका छन्। समाजका सबै पक्षले मानवीय संवेदनशीलता प्रदर्शन गर्दै सडक आश्रित नागरिकलाई सम्मानजनक जीवन दिलाउन भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्।

कार्यक्रममा सडक आश्रित नागरिकको उद्धार तथा पुनःस्थापनामा योगदान पुर्‍याएका संस्था तथा व्यक्तिलाई सम्मान गरिएको छ। साथै, बागमती प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको छ ।