काठमाडौं- गृहमन्त्री सुधन गुरुङसहित सरकारका विभिन्न मन्त्रीहरूले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्दै सुकुम्बासीहरूको अवस्था तथा व्यवस्थापनबारे जानकारी लिएका छन्।
अवलोकन टोलीमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव सहभागी थिए।
भ्रमणका क्रममा मन्त्रीहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको अवस्था, आवश्यकता तथा तत्कालीन र दीर्घकालीन व्यवस्थापनका विषयमा सरकारको तयारीबारे जानकारी गराएका थिए।
भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेपछि भविष्यमा कुनै विवाद नउठ्ने गरी सरकारले काम गरिरहेको बताइन्। उनले सुकुम्बासी समस्याको दिगो समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस विषयलाई राजनीतिक मुद्दा नबनाउन सबै पक्षलाई आग्रह गरिन्।
गृहमन्त्रीको सचिवालयका अनुसार सरकारले सुकुम्बासीको सुरक्षित व्यवस्थापनसँगै स्थायी समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।
यसअघि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। सरकारले उनीहरूको बसोबास, सुरक्षा र आधारभूत सेवाको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।



























































