काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि उकालो लागेको छ। साताको पहिलो दिन नै सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेपछि सुनको भाउ नयाँ उचाइतर्फ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले महँगिएर ४ हजार ७ सय १० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य ९० रुपैयाँले घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उच्च स्तरमा रहेको महासंघले जनाएको छ। आइतबार सुन प्रतिऔँस ४ हजार ३७६.६२ डलर तथा चाँदी प्रतिऔँस ६४.७ डलर आसपास कारोबार भइरहेको छ।




























































