काठमाडौं–साझा यातायातले आइतबारदेखि आफ्नो सेवा विस्तार गर्ने भएको छ । उपत्यका र बाहिरसमेत सेवा दिँदै आएको साझा यातायातले उपत्यकामा थप तीन रूटमा सेवा विस्तार गर्न लागेको हो ।


ADVERTISEMENT


थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझा यातायातका सिइओ महेन्द्र राज पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघिनै साझाले बुङ्गमतिदेखि जावलाखेलहुँदै रत्नपार्कसम्म सेवा दिइरहेको छ । स्थानीय र जनप्रतिनिधिको आग्रहपछि अहिले उपत्यका भित्र थप तीन रूटमा सेवा थप गर्न लागिएको साझा यातायातले जनाएको छ ।

सेमी लो फ्लोर बससहित अहिले ४७ वटा बस रहेको साझाले २ सातापछि ४ वटा बस डिलक्स ल्याउँदैछ । उक्त बसलाई काठमाडौं बाहिर चलाउन प्रयोग गरिने साझाले जनाएको छ । बस आएपछि रूट तय हुने पाण्डेले जानकारी दिए ।

यस्तै आगामी ५ महिनामा २० वटा सहरी बस ल्याउने साझाले ४७ बाट बसको संख्या ७१ पुर्‍याउने लक्ष्य राखेको छ । साझाले अहिलेसम्म सूर्यविनायक–स्वयम्भु, पनौती–रत्नपार्क, धुलिखेल–रत्नपार्क, लगनखेल–नयाँ बसपार्क, लगनखेल–बुढानिलकण्ठ रूटमा सेवा दिइरहेको छ।

यस्तै साझाले उपत्यका बाहिर काठमाडौं–बागलुङ रूटमा बस सञ्चालन गरिरहेको छ । यसैबीच साझा यातायाले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ । नगरभित्र चल्ने यातायातमध्ये टिकट लागू गर्ने पहिलो यातायाता साझाले गाडी चढ्दा यात्रुलाई अनिवार्य टिकट लिन आग्रहसमेत गरेको छ ।

कतिपय यात्रुले टिकट बेवास्ता गरेको भन्दै पाण्डेले यात्रुमा टिकट लिएर मात्र यात्रा गर्नुपर्छ भन्ने धारणा विकास गर्न हामीले टिकटलाई अनिवार्य बनाएका छौ । यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताउँछन् । ‘टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरे–नतिरेको थाहा हुँदैन । टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ’, उनले भने,‘भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो । पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो ।’

साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतिय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ ।

साझाले आगामी दिनमा कार्डको व्यवस्था गरेर अघि बढ्ने योजना बनाएको छ । कार्ड सिस्टमको व्यवस्थाले पारदर्शिता बढ्ने उल्लेख गर्दै पाण्डेले हालको टिकट प्रणालीले पैसा चुहावटको संभावना समेत रहने औंल्याए ।