तेह्रथुम– घरलाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत सुधारिएको चुलो निर्माणको अभियानले गति लिएको छ ।


ADVERTISEMENT


सबै घरधुरीमा सुधारिएको चुलो निर्माण तथा प्रयोग गरी जिल्लालाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत जिल्लाभर हालसम्म १२ हजार ५९६ धुवाँरहित सुधारिएको चुलो निर्माण भएका छन् । जिल्लामा १७ हजार ४३२ घरधुरी भएकामा हालसम्म १२ हजार ५९६ सुधारिएको चुलो बनेको जिल्ला सेवा केन्द्र देउराली सोसाइटीका फोकल पर्सन सोमनाथ ढकालले बताए ।


ADVERTISEMENT

# # #


अभियानकै क्रममा दुई नगरपालिका र चार गाउँपालिका (साबिकमा ३२ गाविस) रहेको जिल्लाका साब्ला, पिप्ले, जिरीखिम्ती र आम्बुङ गाविस घरभित्रको धुवाँरहित क्षेत्र घोषणा भइसकेका छन् ।

यस्तै मोराहाङ, सोल्मा, जलजले, श्रीजुङ र खाम्लालुङ पनि घरभित्रको धुवाँरहित घोषणा भएका छन् । निर्धारित मितिभित्रै जिल्लालाई धुवाँरहित बनाउन सबै नगरपालिका र गाउँपालिकाका वडामा चुलो बनाउने अभियान तीव्र रुपमा चलाइएको छ । सबै घरधुरीमा चुलो बनिसकेका सुदाप, पञ्चकन्या, सिम्ले र आङिदममा घरभित्रको धुवाँमुक्त घोषणाको तयारी भइरहेको छ । ती गाउँलाई चालु आवभित्र घरभित्रको धुवाँमुक्त घोषणा गरिने बताइएको छ ।

बाँकी सबै गाउँमा चुलो निर्माणको काम भइरहेको जिल्ला सेवा केन्द्र देउराली सोसाइटीका अध्यक्ष दिनेशप्रसाद खनालले बताए। जिल्लाभर हालसम्म एक सय ५० स्टोभ मास्टर चुलो बनाउने काममा खटिएका छन् । उनीहरुले स्थानीयवासीको मागबमोजिम तोकिएको मूल्यमा चुलो निर्माण गरिदिएका छन् । सामान्य एउटा चुलो निर्माणका लागि रु एक हजार ५०० खर्च लाग्छ ।
जिल्लामा तीन वर्षयता वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत क्षेत्रीय सेवा केन्द्र नाम्सालिङ विकास केन्द्रको सहयोगमा जिल्ला सेवा केन्द्रका रुपमा देउराली सोसाइटीले चुलो निर्माणका लागि सहजीकरण गर्दैआएको छ । बाँकी घरधुरीमा पनि यथाशीघ्र धुवाँरहित सुधारिएको चुलो निर्माण गरी जिल्लालाई नै घरभित्रको धुवाँरहित जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका सूचना अधिकारी देवेन्द्र निरौलाले बताए।

स्वास्थ्यका लागि निकै हानिकारक मानिने धुवाँ घरभित्र जम्मा हुन नदिन र स्वस्थ समाज निर्माणका लागि अभियानलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनले बताए।