काठमाडौँ– प्रधानन्यायाधीशमा सिफारिस गरिएका न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ सोमबार (२५ गते) हुने भएको छ।संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मिश्रविरूद्ध उजुरी दिनेहरूसँग आइतबार छलफल गरेर सोमबार उनको सुनुवाइ हुने जानकारी दिए।


ADVERTISEMENT


मिश्रविरूद्ध समितिमा चार उजुरी परेका थिए। एकजना उजुरीकर्ताले आफ्नो उजुरी फिर्ता लिएका छन्। सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरूद्ध परेका हुन्।


ADVERTISEMENT

# # #


मिश्रविरुद्ध सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको उजुरी छ। बलात्कारविरूद्ध अभियान चलाइरहेकी सावित्री सुवेदीले उक्त मुद्दामा कोइरालाको सजाय घटाइएकोमा प्रश्न उठाएकी छिन्। माइतीघर मण्डलामा सुवेदीलगायत केहीले मिश्रविरूद्ध बुधबार प्रदर्शनसमेत गरेका छन्।

त्यस्तै, नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको उजुरी समेत परेको छ। ‘यस्ता भ्रष्ट व्यक्तिलाई प्रधान न्यायाधीश बनाउँदा न्याय नै समाप्त हुने भएकाले निजलाई प्रधानन्यायाधीश बन्नबाट रोकिपाउँ,’ उजुरीकर्ताले लेखेका छन्।

मिश्रको प्रमाणपत्र भारतीय भएकाले उजुरीकर्ताले उनको माइग्रेसनमा प्रश्न उठाएका छन्। उनले पढाइको समकक्षतासमेत प्रमाणित नगरेको उजुरी छ। त्यस्तै, हाँडीगाउँमा २ अर्ब बजार मूल्यको ३६ रोपनी ६ आना जग्गा नक्कली मोहीको नाममा दर्ता गर्न आदेश दिएको उजुरीसमेत छ।

एनसेलको मुद्दामा करोडौँ घुस खाएर राजश्व छलीमा सहयोग पुर्‍याएको, सूर्य नेपालको कर छलीमा समेत सहयोग पुर्‍याएको आरोप उजुरीकर्ताले लगाएका छन्। मिश्रको नियुक्तिले भ्रष्टको राज हुने उजुरीकर्ताले उल्लेख गरेका छन्।

भदौ ७ गते संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। यसअघि प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि परिषदले मिश्रलाई सिफारिस गरेको हो।