विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको साँघुरो मानसिकता र ढिलासुस्तीका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । स्थानीय र प्रदेश सरकारको अधिकारको उपभोग, नीति निर्माण र कामबारे सामन्जस्यता कायम गर्न बुधबार विराटनगरमा आयोजित प्रदेश १ को पहिलो प्रदेश समन्वय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।


ADVERTISEMENT


मुख्यमन्त्री राईले पूर्ण बजेट आए पनि त्यसको कार्यान्वयन गर्न नसकेको बताए । उनले चालू वर्षको पहिलो चौमासिक बितिसक्दा पनि अझै प्रदेश सरकारका संरचना कार्यान्वयनमा ल्याउन नसकेकाले बजेटअनुसार जनताका लागि विकासको काम गर्न नसकेको बताए ।


ADVERTISEMENT

# # #


‘केन्द्रीय सरकारले कर्मचारी पठाउन र संरचना हस्तान्तरणमा ढिलाइ गरेकाले हामीले नै कर्मचारी राख्ने तथा संयन्त्र निर्माण गरेर अगाडि बढ्ने प्रयास गरेका थियौँ । त्यसमा पनि संघीय सरकारले रोक्यो,’ उनले भने, ‘समस्या प्रदेश सरकारले गर्दा होइन, केन्द्रीय सरकारको साँघुरो मानसिकता र ढिलासुस्तीले गर्दा देखिएको हो ।’ – आजको नयाँ पत्रिका दैनिकबाट