काठमाडौं– दशैँ मनाउनका लागि संघीय राजधानी काठमाडौँ उपत्यका छाडेर बाहिरिने क्रम जारी छ । आइतबार साँझसम्म करिव २३ लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट विभिन्न गाउँ सहरका लागि बाहिरिएको तथ्य महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी गराएको छ ।


ADVERTISEMENT


नेपालीहरूको मुख्य चाड दशैँ आँगनमै आइसक्दा राजधानी सहर छोडी बाहिरिनेको दिनहुँ भीड लाग्ने गरेको छ । घटस्थापनादेखि सुरू भएको गाउँघर फर्किने क्रम आज आएर झन बढेको छ ।


ADVERTISEMENT

# # #


उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३१ र कार्तिक १ गतेसम्मै घर फर्किने अनुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार घर फर्कनका लागि यसअघि नै टिकट बुक गरिसकेका र नगरेका लगायत कुल ४० लाख सर्वसाधारण यात्रु काठमाडौँ बाहिरिने अनुमान छ ।

कार्तिक २ गते दशैँको टीकाको दिन रहेकाले राजधानीबाट नजिकका जिल्लामा १ गतेसम्मै बाहिरिने यात्रुको चाप रहनेछ । टाढाका जिल्लामा भने एक साताअघिदेखि नै जाने यात्रुको चाप रहेको छ । उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढे पनि भित्रिने साधनको सङ्ख्या भने कम हुँदै गएको पनि महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाका मुख्य नाकाहरूमा प्रहरीले सुरक्षा चेकिङमा पनि कडाइ गरेको छ । काठमाडौँका मुख्य ६ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएको महाशाखाको भनाइ छ । यस्तै फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् ।